काठमाडौँ, २८ माघ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहान करिब पौने पाँच बजेतिर रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ ।बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका-२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी छन् ।
घाइते तीनै जनालाई उद्धार गरेर कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्