काठमाडौँ, २८ माघ । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन भइरहेको ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत ‘सफा गरौँ’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।
बुधबार पशुपतिनाथ क्षेत्रमा आयोजित एक कार्यक्रममा उक्त अभियानको औपचारिक सुरुवात गरिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको क्रिएसनले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोकाकोला भारत तथा दक्षिणपश्चिम एसियाकी वरिष्ठ निर्देशक सलोनी गोयलले वातावरण संरक्षण र दिगो सहरी विकासका लागि सार्वजनिक–निजी सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक अजय कोनाले दिगो वातावरण निर्माणका लागि निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै स्वच्छता प्रवर्द्धनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रिएसनसँगको सहकार्यले पशुपति क्षेत्रको सरसफाइमा महत्वपूर्ण सहयोग पुगेको जिकिर गरे । उनले लाखौँ श्रद्धालु तथा पर्यटक आउने आस्थाको केन्द्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबै पक्षसँगको सहकार्यमा निरन्तर सरसफाइ कायम राखिएको बताए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका प्रतिनिधि रविन शाक्यले स्वच्छ वातावरण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै दिगो फोहोर व्यवस्थापन प्रणाली विकासमा यस्ता अभियानले सहयोग पुर्याउने बताए ।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले पर्यटकीय स्थल तथा सांस्कृतिक धरोहरलाई स्वच्छ राख्नु सबैको दायित्व भएकोमा जोड दिइन् । संस्थापक अध्यक्ष आनन्द मिश्रले कोकाकोला फाउन्डेसनसँगको विगतदेखिको सहकार्य स्मरण गर्दै फोहोरमैला व्यवस्थापनमा अझ सक्रियता आवश्यक रहेको बताए । उनले विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरहरूलाई सांस्कृतिक रूपमा स्वच्छ राख्न निरन्तर र नियमित सरसफाइ आवश्यक रहेको स्पष्ट पारे ।
क्रिएसन नेपालका सल्लाहकार अनिल चित्रकारले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा दिगो सहरी विकासका लागि सामूहिक पहल अपरिहार्य रहेको बताए ।
उक्त अवसरमा ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत दि कोकाकोला फाउन्डेसनको सहयोगमा पुनर्चक्रण गरिएको प्लास्टिकबाट निर्माण गरिएका बेन्चहरूको अनावरण गरिएको थियो । परियोजनाअन्तर्गत पशुपति क्षेत्रमा दर्शनार्थीका लागि ४० भन्दा बढी बेन्च जडान गरिएको जनाइएको छ ।
सरसफाइ कार्यक्रममा धार्मिक तथा सार्वजनिक स्थलहरूको सरसफाइसँगै युवा, सरसफाइकर्मी, सुरक्षाकर्मी, कलेज विद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो । महाशिवरात्रिको पूर्वसन्ध्यामा करिब ५०० भन्दा बढी सरसफाइकर्मी, सुरक्षाकर्मी, विद्यार्थी तथा स्वयंसेवकहरूको सहभागितामा पशुपति क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले व्यक्त गरिन् ।
आयोजकका अनुसार ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्