काठमाडौँ, २८ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को गत असोज ५ को निर्णयअनुसार तयारी नभएका, खरिद प्रक्रियामा नपुगेका र तत्काल प्रतिफल नदिने आयोजना मात्र स्थगन गर्ने निर्णय गरेको थियो । आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनःसञ्चालन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र सहिद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिए ।
मन्त्री खनालले डिजाइन, स्टिमेट तथा टेन्डर प्रक्रियामा गइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भई क्रमागत रूपमा अघि बढिरहेका आयोजना सम्बन्धित मन्त्रालयबाट पुष्टि गरी क्रमश फुकुवा गर्दै लगिएको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी समेत दिए ।










प्रतिक्रिया दिनुहोस्