काठमाडौँ, २९ माघ । टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ ।
आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको जनाइएको छ ।
टिकटकका अनुसार सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा लागू गरिँदै आएका निर्वाचन निष्पक्षता र नैतिकता सम्बन्धी पहलको निरन्तरता स्वरूप नेपालमा पनि यो सेवा सुरु गरिएको हो ।
यसक्रममा टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकता प्रवर्द्धन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेको छ। आयोग परिसरमा क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरिएको टिकटकले जनाएको छ । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचना नियन्त्रणका उपाय तथा सरोकारवालाबिच निर्वाचन नैतिकता सम्बन्धी समझदारी बलियो बनाउने विषयमा छलफल भएको थियो ।
एपभित्र उपलब्ध ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो । यसमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने, भ्रामक सूचना पहिचान गर्ने उपाय तथा आयोगका आधिकारिक स्रोतमा जोडिने लिङ्कहरू समावेश छन् । निर्वाचनसम्बन्धी कन्टेन्ट र सर्चमा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सो केन्द्रतर्फ मार्ग निर्देशन गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्