काठमाडौँ, १ फागुन । रौतहटमा नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो ।
पक्राउ पर्नेमा वृन्दावन–२ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए ।
पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेश पटेलको गोजीबाट हजार दरका १२ थान र विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्