सम्पादकीय

विदेशबाट बर्सेनि आउँछन् हजार ‘बाकस’



काठमाडौं, १७ माघ । मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटका लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो ।

शव बाहिर निकाल्ने फरक बाटो थिएन । मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए । त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरुलाई पर्खिबसेका आफन्तको मन चिसो भयो । भन्दै थिए, ‘कफिन त अर्कै बाटो लैजाने व्यवस्था भइदिए पनि हुन्थ्यो नि’ एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्‍याउन ढोका छेउमै तीन वटा एम्बुलेन्स थिए । मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरेका थिए ।
पुनको हृदयघातबाट मृत्यु भएको थियो । लालबहादुरको मृत्युको कारण खुलेको थिएन । त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो । जसमा थिए, सोनाम तामाङ, शेख इजराइल, मोहम्मद अकुब नदफ्फा र आइडी मोहम्मद । मेडिकल रिपोर्टमा सोनामको श्वासप्रश्वास समस्याबाट मृत्यु भएको उल्लेख छ । शेख र आइडी काम गर्ने स्थानबाट खसेका थिए ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकहरुबाट यसरी शव आउनु सामान्य भइसकेको छ । हरेक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेको कान्तिपुरमा समाचार छ ।