विश्व

युक्रेनको खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन : पुटिन



एजेन्सी, ५ जेठ । दुई दिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो हार्बीनको भ्रमण गर्नुभएको छ । चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताउनुभएको छ । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो । तर पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बताउनुभएको बीबीसीले जनाएको छ ।

रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् । प्राविधिक र औद्योगिक केन्द्रका रूपमा रहेको खार्किभ क्षेत्र रुसी सीमादेखि झण्डै ३० किलोमिटर टाढा पर्छ । आफ्नो छिमेकी देश युक्रेनमाथि पूर्ण स्तरमा रुसले आक्रमण थालेको तीन वर्ष पुगेको छ ।

तत्काल आक्रमण रोकिने कुनै सङ्केत पनि देखिएका छैनन् । भ्रमणको पहिलो दिन अस्ति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । दुई नेताबीच दुई देशबीचको महत्त्वपूर्ण सम्बन्ध तथा युक्रेनमा भइरहेका घटनक्रमबारे छलफल भएको थियो । पुटिन चीनमा पुगेकै बेला अमेरिकाले चीनले युरोप र रुससँग एकै समयमा राम्रो सम्बन्ध राख्न नसक्ने टिप्पणी गरेको छ ।