समाचार

चेपाङ बस्तीमा पुग्यो बिजुली



काठमाडौँ, ६ जेठ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ ।

मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्स सहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।