सम्पादकीय

पशुपति र स्वयम्भूका धेरै बाँदर बिरामी



काठमाडौं, १८ माघ । राजधानीको पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी पाएका छन् । उपत्यकामा मात्र एक हजारभन्दा धेरै बाँदर छन् । तीमध्ये पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी रहेको विज्ञहरूले बताएका छन् ।

रासायनिक विषादीयुक्त अप्राकृतिक खाना, साँघुरो बासस्थानजस्ता कारणले धेरै बाँदर रोगी भएको विज्ञहरूले बताएका छन् । ती क्षेत्रका अधिकांश बाँदरमा एक दर्जनभन्दा धेरै रोग देखिएको उनले बताए । र, त्यस्ता बाँदर मानिसका लागि खतरा बन्दै गएको पनि उनले बताए । ‘बाँदरमा लागेको रोगका कीटाणु मान्छेमा सर्‍यो भने उपचार नहुने अवस्था आउन सक्छ,’ चालिसेले भने ।

पशुपति–स्वयम्भूमा धेरै बाँदर

राजधानीमा मात्र बाँदरको संख्या एक हजारभन्दा धेरै छ । त्यसमा पनि पशुपति र स्वयम्भूमा बाँदरको संख्या बढी रहेको छ । पशुपति क्षेत्रमा ४ सय ४५ र स्वयम्भूमा ४ सय ५० बाँदर छन् । संख्या बढी भएकाले बासस्थान र खानाको अभाव छ । जसका कारण बाँदरहरू बढी रोगी भएका हुन् । थापाथली क्षेत्रमा ५०, गोकर्णमा ७५, साँखुमा एक सय २५ र नीलवाराही क्षेत्रमा ७५ बाँदर छन् ।

‘जंगलमा भएमा फलफूल र पात खाँदा बाँदरको स्वास्थ्य राम्रो हुन्छ । तर, फलफूल र पातको अभावमा जे भेटिन्छ त्यही खाने गरेको देखिन्छ,’ विज्ञ चालिसेले भने । चाउचाउ, बिस्कुट, आइसक्रिम, आलु चिप्सलगायत तेलबाट बनेका खानेकुरा खाँदा बाँदरको स्वास्थ्यमा असर परेको उनले बताए ।

बाँदरमा देखिएका रोग

धेरैजसो बाँदरलाई क्षयरोग, बे्रनट्युमर, छालासम्बन्धी, रौँ खुइलिने, खोकी, दम, जुका पर्नेजस्ता रोग देखिएका छन् । झाडापखाला र होइड्रोसिलको समस्या पनि धेरै बादरलाई रहेको छ । त्यसैगरी पोथी बादर (सुन्दरी)लाई पाठेघर खस्ने, रक्तश्राव हुनेजस्ता समस्या देखिएको विज्ञ मुकेश चालिसेले जानकारी दिए ।

देशभर तीन प्रजातिका बाँदर

नेपालमा मुख्य गरी रातो, पहरे र लंगुर बाँदर पाइन्छ । रातो बाँदरको संख्या सबैभन्दा धेरै छ । रातो बाँदरको संख्या देशभर एक लाख रहेको अनुमान छ । पहरे र लंगुर बाँदरको संख्या ४०–५० हजारजति रहेको अनुमान छ ।

अप्राकृतिक स्वभाव देखियो

अस्वस्थ्य भएकै कारण ती क्षेत्रका बाँदरले अप्राकृतिक स्वभावसमेत देखाउने गरेको विज्ञहरूको भनाइ छ । छिटो बढ्ने, छिट्टै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने र छिट्टै मर्ने क्रियाकलाप देखाउने गरेको बाँदरविज्ञ मुकेश चालिसेले बताए । सामान्यतया बादरले एउटा मात्र बच्चा जन्माउने गरे पनि यस क्षेत्रका बाँदरले चारवटासम्म बच्चा जन्माउने गरेका छन् ।

बाँदरले सामान्यतया पाँच वर्षपछि मात्र बच्चा जन्माउने गरे पनि पशुपति र स्वयम्भू क्षेत्रमा देखिएका बाँदरले दुई वर्षमै बच्चा जन्माउने गरेका छन् । सामान्य अवस्थाका बा“दरको आयु २५ देखि ३० वर्ष भए पनि यहाँका बाँदर १२ वर्षभन्दा धेरै नबाँच्ने नयाँ पत्रिकामा समाचार छ ।