समाचार

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि २० अर्ब ऋण आउने



काठमाडौंः सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी)का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋणका सम्बन्धमा वार्ता गर्न एक टोली गठन गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी र्दिए ।

शिक्षा मन्त्रालय सात वर्षका लागि विद्यालय क्षेत्रको सुधारको निरन्तरताका लागि सो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मन्त्री कार्कीले तत्कालीन माओवादी सेनाको लडाकू शिविर रहेको चितवनको शक्तिखोरमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको पनि बताए ।

बैठकले डडेल्धुराको आलिताल–२, ३, ४ र ८ मा धनीपुर्जा पाइसकेका सुकुम्बासीको घरको छेउमा १२८ रूख ढल्ने र आगलागी हुन सक्ने भएकाले कटान गरी लिलामी गरेर राजस्व दाखिला गर्ने निर्णय गरेको छ ।

यस्तै जीवित कुमारी, गणेश र भैरवको मासिक तथा निवृत्तीभरणमा ५० प्रतिशत वृद्धि गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले बताए ।