समाचार

गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखलाई निर्देशनः कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्नु



काठमाडौं, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिए ।

हिजो मात्र नयाँ जिम्मेवारीमा पाउनु भएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि उनले तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । सुन तस्करी, लागुऔषध एवम् सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाइ गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई निर्देशन दिए ।

यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधनसम्बन्धी विधेयक र विपद् व्यवस्थापनसम्बन्धी विधेयक यथाशीघ्र पेस गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिए । उनले विगतमा मधेसी मोर्चासँग भएको सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुङ्ग्याउन पनि सचिव रेग्मीलाई निर्देशन दिए ।