राजनीति

नेता मण्डलले भने–मोर्चाको गृहयुद्धको तयारीमा कांग्रेसले सहयोग गरिरहेको छ



 

काठमाण्डौ,२५ फागुन । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर दुईका इञ्चार्ज सत्यनारायण मण्डलले भने – सप्तरी र सिराह जिल्लामा मोर्चाले एमालेका नेता–कार्यकर्ताको घर छानीछानी मोर्चाका नेता–कार्यकर्ताले तोडफोड गरेका छन्,’ उनले भने, ‘प्रहरी भने मूकदर्शक बनेका छन् । यहाँ अहिले पूरै आतंक मच्चाइएको छ । र, मोर्चाको गृहयृद्धको तयारीमा जानीनजानी कांग्रेसले सघाइरेहेको छ ।

नेता मण्डलले सप्तरीमा एमाले नेता सुमन प्याकुरेल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, कामानन्द देवलगायतको घरमा तोडफोड भएको जानकारी दिए । ‘मोर्चाका कार्यकर्ताले हाम्रा केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको राजविराज–४ स्थित घरमा तोडफोड गरेका छन् । हाम्रै नेता रामानन्द देवको राजविराज–९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन्,’ मण्डलले भने, ‘प्रहरी मूकदर्शक बनेको छ ।’

उनले राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरेर राज्यले झन आतंक सिर्जना गरेको आरोप लगाए । ‘मधेसी मोर्चाले गृहयुद्धको तयारी गरेको छ,’ उनले भने, ‘त्यसमा कांग्रेसले सहयोग गरिरहेको छ ।’ उनले सामाजिक फाँसीवादी चरित्र हाबी भएको भन्दै प्रदेश नम्बर–२ का एमाले नेता–कार्यकता र शुभेच्छुकलाई बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन् ।

‘हाम्रा शीर्ष नेतासहितको उपस्थितिमा राजविराजमा कार्यक्रम हुँदा शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको थियो,’ उनले भने, ‘प्रहरीको चलाखीपूर्ण निर्णयका कारण त्यस्तो दूर्भाग्यपूूर्ण घटना हुन पाएन ।’नेता मण्डलले गोली लागि हत्या भएका जनताप्रति समवेदना प्रकट गर्दै भने, ‘हामी कसैको पनि हत्या नहोस भन्नेमा छौँ,’ । उनले भने, ‘राजविराजमा भएको दुःखद् घटनाले हामी पनि दुःखी छौँ ।’

उनले राजविराज घटनाका क्रममा मोर्चाले सुटरसम्म मगाएको जानकारी भएको दाबी गरेका छन् । ‘अहिले कांग्रेसले मोर्चाका नेताहरुलाई सहयोग गरेको छ,’ उनले भने, ‘एमालेपछि प्रहार हुने कांग्रेसलाई हो, त्यतिबेला कांग्रेसले थाहा पाउने छ । तर, त्यति बेलासम्म समय निकै अघि बढिसकेको हुनेछ ।’

मण्डलले गृहमन्त्री विमलेन्द्र निधिले लहानमा दिएका अभिव्यक्तिकै सप्तरी घटना एक श्रृंखला भएको दाबी गरे । ‘अहिले प्रदेश नम्बर–२ का एमाले कार्यकर्ता असुरक्षित बनेका छन् । उनीहरु सुरक्षित स्थानको खोजीमा छन् ।