शैक्षिक

हिमपातका कारण मनाङमा सडक यातायात अवरुद्ध, हिउँ फाल्न सेना र प्रहरी



लमजुङ (बेसीसहर), १ चैत । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ ।

सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

जिल्ला सूरक्षा समितिको बैठक बसी जिल्लामा यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो ।

बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङसारसम्म सडक पूरै अवरुद्ध भएको र सोमबार चामेबाट सडक सफा गर्ने काम सुरु भएको सहायक प्रजिअ पन्तले बताए ।सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको पन्तले बताए ।

उनले सहज ठाउँमा सेना, प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्नका निम्ति सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको बताए ।

उनले चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायत ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनका निम्ति सडक सफा गरिरहेको बताए । मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

अत्यधिक चिसोका कारण दुई दिनसम्म मनाङको सञ्चारका साथै विद्युत् पनि अवरुद्ध भएको थियो । मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्ता पनि भएका थिए ।