Banner News

एमाले महासचिव पोखरेलको उद्घोष – उम्मेदवारीको असन्तुष्टि अव रहंदैन



इतिहासमै पहिलो पटक चुनावमा बृहत बाम तालमेल गरेर जाँदै हुनुहुन्छ । तालमेलका क्षेत्र कसरी ब्यवस्थापन गर्दै हुनुहुन्छ ?

सिटको ब्यवस्थापन र बाँडफाँड पहिलो त जितको सुनिश्चितताले गर्छ । जहाँ जसलाई जित्न सजिलो पर्छ त्यहि आधारमा हामी बाँडफाँड गर्छौं । अर्को हामीले ०७० सालको संसदीय चुनाव र ०७४ सालको स्थानीय चुनावको मत परिणमलार्ई आधार बनाएर उम्मेदवार छान्ने मापदण्ड बनाएका छौं । त्यस्तै हामी ६० र ४० प्रतिशतको हाम्रो सहमति अनुसार नै अगाडि बढ्ने छौं । हामीले यो चुनावका लागि मात्रै बाँडफाँड गरेको भनेर सोच्यौं भने गतल हुन्छ । यो जितसँग पार्टी एकता पनि जोडिएर आउँछ । त्यसैले यो कि त्यो भन्नु पर्ने केही छैन । चुनावपछि हामी पार्टी नै एकता गर्दैछौं ।

पार्टी अलगै छ, चुनाव चिन्ह अलगै छ । कसरी प्रचार प्रसार गर्नुहुन्छ ?

एउटै चिन्ह लिएर चुनावमा जाने हाम्रो सहमति थियो । तर, प्राविधिक कारणले सम्भव भएन । अलगै चिन्ह भए पनि हामी अलगै चुनाव चिन्ह लिएका हाम्रा उम्मेदवारलाई मतदाताबीच संयुक्त रुपमा परिचय गराउँछौं । तपाईंले देख्नु नै भयो होला, मनोनयनको बेला पनि संयुक्त ढंगले एउटै ब्यानर र झण्डामुनी रहेर हामीले उम्मेदवारी दर्ता गरायौं । त्यो एउटा सुन्दर संकेत हो । यो जसरी सम्भव भयो अब हाम्रा हरेक योजना त्यसैगरी सम्भव हुनेछन् । हेर्दै जानुहोला दुई पार्टीका कार्यकर्ता मात्र होइन समर्थक र मतदाता पनि संयुक्त प्रचारमा निस्कन्छन् । किनकि हामी पार्टी भन्दा माथि उठेर देशको हित गर्ने एउटा बृहत योजनामा छौं । जसले देशको भविश्य निर्धारण गर्ने छ । र यो सफल हुने कुरामा शंका नगर्नुस् ।

तपाईंहरुले माथिबाट घोषणा गरेर हुन्छ रु सिट बाँडफाँड र उम्मेदवार तय भएका क्षेत्रमा एमालेले जित्ने ठाउँमा पनि माओवादीलाई जिम्मा दिइयो भनेर असन्तुष्टि आएका छन् । देख्नु भएको छैन ?

हो, त्यो हामीले पनि सुनेका छौं । तर, सबै नेता कार्यकर्तामा मेरो आग्रह के छ भने तपाईंहरुले यो तालमेल र पार्टी एकताको ‘ग्रेटर कज’लाई बुझेर अघि बढ्नु होला । हामीले चुनावी तालमेलको लागि मात्र होइन पार्टी एकताको लागि यो अभियान थालेका हौं । साथीहरुका आकांक्षामा केही तलमाथि हुनसक्छ तर, सिंगो कम्युनिस्ट आन्दोलन, लोकतन्त्रको स्थायित्व, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि निजी आकांक्षालाई केही समय थाती राख्न सक्नुपर्छ । हामीले पार्टी एकताका लागि लामो समय छलफल गरेर, नेता कार्यकर्तालाई बुझाएर यो निर्णय गर्न सकेनौं, त्यस्तो समय पनि भएन । त्यसै कारण छिटफुट रुपमा असन्तुष्टि रहन पुगेको हो । हिजो हामीले काउन्सिलिङ गर्न नपाएको ठाउँमा काउन्सिलिङ गरेर त्यसको ब्यवस्थापन गर्नेछौं । यस्तो असन्तुष्टि धेरै समय रहने छैन ।

भोलि पार्टी एकता हुने कुरा गर्नुहुन्छ तर, यहाँ त तपाईंहरुको चुनावी लातमेल समेत पत्याएका छैनन् । के भन्नुहुन्छ ?

राजनीति कहिल्यै पनि शान्त तलाउमा ढुंगा हानेजस्तो हुँदैन । भइरहेको अवस्थाको वजन भन्दा दोब्बर गुणाको परिर्वतन हुँदा पत्याउन पनि कठीन नै हुन्छ । साना साना आकारका फूलका थुंगाहरुलाई गाँठो परेको धागोले उन्दा झनै भत्कने त होइन भन्ने लाग्नु स्वाभाविक हो । जनतामा त्यहि आशंका होला । तर त्यो गाँठो पार गर्दै सुन्दर माला बनाएर हामी जनतालाई पहिर्याउन आतुर छौं । त्यो दिन देशको लागि पनि स्वर्णिम हुनेछ ।

तपाईंको विश्वास एकातिर छ तर, अर्कोतिर पहिलो चरणको चुनावमै बागी उम्मेदवार उठेका छन् । कसरी पत्याउँने सुन्दर माला बनाउनुहुन्छ भन्ने ?

हो, हामी अहिले कति ठाउँमा बागी उम्मेदवार पनि फेस गरिरहेका छौं । यो सबै समस्या हामीलाई छलफलको लागि धेरै समय नभएर आएको हो । हामी अहिले पार्टी हित भन्दा पनि देश हितमा केन्द्रित छौं । त्यसैले साथीहरुलाई अवस्थाको मुल्याङकन गरेर अघि बढ्न अनुरोध गर्छु । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने समय छ । उहाँहरुले सबै कुरा मनन गर्नुहुनेछ । एकीकृत ढंगको सोचका साथ अघि बढ्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । भरेसम्म सबै कुराको ब्यवस्थापन हुनेछ ।

त्यसो भए चुनावपछि लगत्तै पार्टी एकता हुन्छ होइन त ?

हो, हामी अहिले चुनावको चटारोले थिचिएका छौं । त्यता सबैले ध्यान दिन पाएका छैनांै । तर हामीले पार्टी एकता संयोजन समिति बनाएका छौं । त्यसैका लागि काम गर्ने दुईवटा उप समितिहरु पनि बनाएका छौं । तिनै समितिहरुले काम गरिरहेका छन् । दुई पार्टी बीचको एउटा बृहत संयोजन समिति छ । हामी यो चुनावको चटारो सक्नसाथ त्यसलाई मूर्तरुप दिन लाग्छौं । तर त्यो तपाईंले देखेको जस्तो कहिँ दुख्ने खालको हुनेछैन । किनकि हामीले पार्टी हित भन्दा माथि उठेर देश हितलाई केन्द्रमा राखेका छौं । इगो छोडेर अब देश विकासमा लाग्नु पर्छ भनेर यस कुरामा सबै नेता सचेत हुनुहुन्छ ।

जनता फुट्न होइन जुट्न चाहन्छन् । जनताको चाहना यो सानो देशमा दुईवटा मात्र पार्टी हुन् भन्ने छ । हामी जनताको त्यहि चाहना पूरा गर्ने तयारीमा छौं । यो जे हुँदैछ, पार्टी एकताको कुरा मात्र होइन, जनता जोड्ने र देश विकासमा लैजाने प्रक्रिया हो । यसमा हामी पार्टीका नेता भन्दा धेरै जनता हौसिएका छन् । जनताको यो बृहत साथ र हौसलाले हामी पुलकित छौं । र त्यहि हौसलालाई हामी संम्भावनामा परिणत गर्नेछौं ।
चक्रपथबाट