सम्पादकीय

उद्योगपति चौधरी कांग्रेसको समानुपातिकमा



काठमाडौं, १४ कर्तिक । विश्वमै ख्यातिप्राप्त मानिने फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा बर्सेनि समावेश हुँदै आउनुभएका एकमात्र नेपाली उद्योगपति विनोद चौधरीलाई नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।

चौधरी यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद रहनुभएको थियो । नेपाली कांग्रेसमा प्रवेश गरेपछि चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको पार्टी सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगपति चौधरीलाई मङ्गलबार एक पत्र लेख्दै नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । देउवाले चौधरीलाई लेख्नुभएको पत्रमा नेपाली अर्थतन्त्रको विकासमा विशेष क्षमता प्रदर्शन गरेका व्यक्तिहरूलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा नेपाली कांग्रेसले राख्न चाहेको उल्लेख गर्दै भनेका छन, ‘नेपाली काँग्रेसले लिएको मुलुकको आर्थिक विकासको अभियानमा तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्नसक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नसक्ने विश्वास लिएको छु ।’

उद्योगपति चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग परिसङ्घको पूर्वअध्यक्ष र हाल परिसङ्घकै इमिरेट्स हुन । सभापति देउवाले नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउने उद्यमी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वर्तमान र पूर्वपदाधिकारीलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफूले आग्रह गर्दै आएको पनि स्पष्ट गरे ।

खाद्य पदार्थ, विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग, सवारी साधनहरूको बिक्री वितरणलगायत शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी गर्दै आएका चौधरी मुलुककै सबैभन्दा ठूलो व्यावसायिक घराना सीजी ग्रुपको अध्यक्ष हुन ।

उहाँका स्वदेश तथा विदेशमा ८० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको तथ्याङ्अनुसार सन् २०१७ मा चौधरीको कुल सम्पत्ति एक अर्ब ३३ करोड अमेरिकी डलर रहेको छ । उहाँले नेपाल, भारत, थाइल्यान्डलगायत विभिन्न देशमा चाउचाउ उद्योग विस्तार गरिरहेका छन ।

यसैबीच नेपाली काँग्रेस संसदीय समिति (बोर्र्ड)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार चयनका क्रममा मङ्गलबार केही स्थानका लागि महिला उम्मेदवारको टुङ्गो लगाएको छ । गोरखापत्रमा समाचार छ ।