मनोरञ्जन

चलचित्र निर्माताहरु कडा आन्दोलनमा उत्रने घोषणा



बैशाख २२, काठमाडौँ ।  निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौता कार्यन्वयन नभएको भन्दै निर्माताहरु कडा आन्दोलनमा उत्रने भएका छन् ।

नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ ।

संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी बिभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुनेर   जेठ २ गते चलचित्र बिकास बोर्डमा फिल्म सेन्सर नगर्नका लागि दबाब दिँदै धर्ना बस्ने कार्यक्रम रहेको छ ।

यस्तै, जेठ ४ गतेदेखि सम्पूर्ण हलमा फिल्म प्रदर्शनमा रोक लगाइने निर्माता संघका महासचिव समेत रहेका रोज राणाले बताए । उनका अनुसार, आन्दोलन अगाडि चलचित्र संघसँगको वार्ता सफल भए आन्दोलनका कार्यक्रम स्थगित हुनेछ ।

२०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा सिनेमा घरको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता/वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो ।