विश्व

समुद्रमा चीनले लगातार सैन्य गतिविधि : चिनियाँ टापू ध्वस्त पार्न सक्ने अमेरिकाको धम्की



जेष्ठ १८, एजेन्सी । दक्षिण चिनियाँ समुद्रमा चीनले लगातार सैन्य गतिविधि अगाडि बढाइरहेकामा अमेरिकी रक्षा विभाग पेन्टागनले चीनसँगको विवादलाई अर्को स्तरमा पुर्याउँदै कृत्रिम टापू ध्वस्त पारिदिन सक्ने चेतावनी दिएको छ ।

बिहीबार संचारकर्मीहरु समक्ष बोल्दै अमेरिकी लेफ्टिनेन्ट जर्नेल मेकेन्जिले ऐतिहासिक समयदेखि नै अमेरिकाले सफलतापूर्वक साना टापूहरु कब्जा गर्दै आएकाले चिनियाँ टापू पनि कुनै ठूलो चुनौति नभएको बताएका हुन् । लामो समयदेखि आफ्नो भूभाग दाबी गर्दै आएको चीनले केही वर्षमै त्यहाँ कृत्रिम टापूहरु निर्माण गरि सैन्य क्षेत्रमा परिणत गराएको हो । उता व्यापारिक क्षेत्रमा पनि अमेरिका र चीनबीचको विवादले दिनप्रति दिन गम्भीर रुप लिँदै गइरहेका बेला अमेरिकाले चीनलाई अर्को धम्की दिएको हो ।

सो क्षेत्रमा चीनले आफ्ना अत्यधिक शक्तिशाली हतियारहरु संकलित गरि राखेको अमेरिकी विज्ञहरुको अनुमान छ । पत्रकार सम्मेलनमा पनि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुनिङले अमेरिकाले चीनलाई सैन्य गतिविधि बढाएको आरोप लगाउनु चोर आफैँ रुनु सरह भएको बताएकी हुन् । उनले भनिन्, ‘अमेरिका किन बारम्बार त्यसतर्फ जाने गर्छ ? वास्तवमा अमेरिका गर्न के चाहन्छ ?’