समाचार

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते



लमजुङ, २ वैशाख । लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह लाङ्दीखोलामा दुर्घटना भएको थियो ।

२१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी गराएको छ ।