Banner News

मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ : मन्त्री बाँस्कोटा



काठमाडौँ, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘नेपाली पत्रकारिता क्षेत्रका समस्या र समाधानका उपायहरु’ विषयको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले लोकतान्त्रिक युगले माग गरेअनुसार पत्रकारिता क्षेत्रलाई थप वैज्ञानिक र व्यवस्थित गर्न राज्यले नै पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिडिया क्षेत्र छामिन सक्ने, देखिने र बुझिने हुनुपर्छ । कतैबाट रकम लिन मिल्ने तर देखाउन नमिल्ने भन्ने लोकतन्त्रभित्र सुहाउँदैन, लोकतन्त्रमा सरकार मात्र होइन सञ्चार क्षेत्र पनि पारदर्शी हुन्छ । लोकतन्त्रमा मिडिया जनता, पाठक, देश र प्रणालीप्रति जिम्मेवार हुनुपर्छ, मिडियामा एकाधिकार हुँदैन, समाचार वा विज्ञापनका नाममा समाजलाई हानी पुग्न गएमा त्यसको जिम्मेवारी मिडियाले लिनुपर्छ, नयाँ कानुन र संरचना स्थापनापछि यस वर्ष पत्रकारिता क्षेत्रका लागि एउटा स्वर्णयुग सावित हुनेछ ।’

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारले रगत पसिना बगाएपछि पारिश्रमिक नपाउने अवस्था हुन नहुनेमा जोड दिँदै साना वा ठूला मिडिया भनी परिभाषित गर्नुको साटो जनशक्ति, कारोवार वा लगानीका आधारमा परिभाषित गर्नुपर्ने तर्क राख्नुभयो । उहाँले पत्रकारितामा दण्ड, सजाय र क्षतिपूर्तिको व्यवस्था अदालती मान्यताका आधारमै अपनाइने उल्लेख गर्दै सम्पादकीय स्वतन्त्रतामा कहीँ कतै सङ्कुचन नगरिने स्पष्ट गर्नुभयो ।

निर्वाचनलाई विज्ञापन वा प्रविधिको बलमा प्रभावित पार्ने प्रवृत्ति देखिएको सन्दर्भमा त्यसलाई व्यवस्थित गर्न आवश्यक भएको जनाउँदै उहाँले विज्ञापन कानूनले सबै मिडियालाई हकको विषय नभई क्षमताको विषय बनाउन कोसिस गरेको बताउनुभयो ।