Banner News

प्रधानमन्त्रीद्वारा भियतनामसँग केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने



काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा यही वैशाख र जेठमा भ्रमण गर्ने भएका छन ।

परराष्ट्र मन्त्रालय अनुसार क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ मा हुने औपचारिक भ्रमणमा रहने साथै प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता समेत गर्ने जनाएको छ ।

प्रधानमन्त्री ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्ने साथै भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने जनाएको छ ।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने भएका छन । दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

त्यस्तै कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्न जनाएको छ ।