Banner News

‘सार्वजनिक खरिद ऐन’ संशाेधन गर्ने सरकारकाे तयारी : मन्त्री खतिवडा



काठमाडौँ, २५ बैशाख । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको बताएका छन ।

बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको बताएका छन ।

मन्त्री खतिवडाले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गर्दै नियमावलीमा आयोजना लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था पनि गरिएको समितिलाई जानकारी गराएका छन । सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रिपरिषदबाट पारित गरिसकेको छ ।

बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौंसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

समितिका सदस्य पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्री समेत रहेका डा .बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन ।