समाचार

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो



धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।

मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ । मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको प्रहरीले बताएको छ ।