राजनीति

३३४ सांसदलाई ल्यापटप बाँडिदै



काठमाडौँ, २८ जेठ । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने भएको छ ।

संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ ।प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,’ ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको जनाएको छ ।’ संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने उनले बताए ।

 आगामी आवको बजेटमा विनियोजन भएको सोही शिर्षकको रकमबाट ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ ।