सम्पादकीय

पतिसँग मनमुटाव भएपछि अविवाहित हुँ भन्दै माइती गएर बनाइन् अर्काे नागरिकता



उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।

कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ। दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

धनमायाको ०६७ मा जातीय परम्पराअनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाहपछि सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०र ०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ । कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो ।

उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् । वडाध्यक्ष दनुवारले धनमायालाई शीतल राईको नामबाट नागरिकता दिन जन्ममिति सिफारिससमेत गरेका थिए । जन्ममिति सिफारिस गर्न सर्जमिन मुचुल्का गर्नुपर्ने भए पनि दनुवारले आफैँले सिफारिस गरिदिएको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।