राजनीति

चोर औंला अगाडी ठड्याउँदा चार वटा औंलाले आफैलाई देखाइरहेको हुन्छ : सभापति पाल



काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा नेतृ तथा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले एउटा चोर औलाले अगाडी देखाइरहदाँ चार वटा औंलाले आफैलाई देखाइरहेको हुनाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद तथा सडकमा असंवैधानिक कार्य गरिरहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सभापति पालले कुनै पनि संवैधानिक कार्यलाई असंवैधानिक बनाउने प्रयास नगर्न चुनौति समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘हेक्का रहोस्, हामीले चोर औंला अगाडी ठड्याउँदा चार वटा औंलाले आफैलाई देखाइरहेको हुन्छ ।’

स्वाभाविक रुपले संसद प्रतिपक्षीको हो र सरकार सत्ता पक्षको भएको बताउँदै सभापति पालले पप्रतिपक्षी दलले प्रधानमन्त्रीले संसदमा वर्तमान समय र परिस्थितीको बारेमा जानकारी गराउन खोज्दा प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने असंवैधानिक कार्य गरेकोमा कडा आपत्ती समेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको प्रमुखले संसद र सडकमा उठेको आवाजलाई सम्बोधन तथा सरकारको धारणा राख्नको लागि सदनमा प्रधानमन्त्रीले बोल्न खोज्दा मंगलवार प्रतिपक्षी दलले गरेको अवरोध लोकतन्त्रको आफुलाई मसियार ठान्नेहरुले गरेको हो । विश्वको संसदीय प्रणालीमा प्रधानमन्त्रीले बोल्छु भन्दा नपाउने कहि नभएको जात्रा भएको छ, जुन इतिहासमा नै नेपालमा मात्र घटेको घटना हो । आइन्दा यस्तो घटना नघटोस् ।’