राजनीति

नयाँबानेश्वर वृत्त प्रमुख रेग्मीको स्वागत र काफ्लेको विदाई



काठमाडौँ, ६ असार । गत जेठ महिनाको तेस्रो साता प्रहरी प्रधान कार्यालयले नियमित सरुवा गरेतापनि सुविधानगर तिनकुने क्षेत्रमा सिसिटिभि जडानको काम नसकिएको कारण आफ्नो कार्यभार सुम्पिन नपाएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले अन्ततः बिहीबार वृत्तका नयाँ प्रमुख दुर्गाराज रेग्मीलाई कार्यभार सुम्पेका छन् ।

डिएसपि काफ्लेको विदाई तथा रेग्मीको स्वागतमा वृत्तले एक कार्यक्रम आयोजना गरेको थियो । वृत्तका अधिकृत तथा प्रहरीहरुले काफ्लेलाई टिका, खादा तथा उपहार दिएर विदाई गरेका थिए भने नयाँ डिएसपि रेग्मीको स्वागत गरेका थिए ।

सुविधानगर क्षेत्रलाई ७२ वटा सिसिटिभि जडान गरि सिसिटिभियुक्त बनाएर असार २ गते एक समारोहका वीच हस्तान्तरण गरेपछि उनले बिहीबार आफ्नो कार्यभार नयाँ वृत्त प्रमुख रेग्मीलाई हस्तान्तरण गरि कार्यभार सुम्पेका हुन । बिहीबारदेखि हाजिर भएका वृत्त प्रमुख रेग्मी भने यसअघि संघीय प्रहरी इकाई कार्यालय काभ्रेमा कार्यरत थिए ।

गत वर्षको असार २ गतेदेखि नयाँबानेश्वर वृत्त प्रमुखको कार्यभार सम्हालेका डिएसपि काफ्लेलाई प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक परिचालन शाखा प्रमुखको रुपमा सरुवा गरेको छ ।

नेपाल प्रहरीले अघि सारेको समुदाय—प्रहरी साझेदारी कार्यक्रमलाई नयाँबानेश्वर वृत्तको कार्यक्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको १०, ३१ र ३२ तथा कागेश्वरी, मनोहरा नगरपालिकाको ७, ८ र ९ का समुदाय, विद्यालय, कलेज र स्थानीय तहमा लागु गराउन डिएसपि काफ्ले सफल भएका थिए ।

यसैवीच डिएसपि काफ्लेको विदाईमा सामुदायीक सेवा तथा विकास समाज तथा सामुदायीक प्रहरी सेवा केन्द्र १०, ३१ र ३२ र स्थानीय सामाजिक संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ ।

जाँदाजाँदै सहयोगी प्रहरीहरु पुरस्कृत

केही महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंबाट नगदसहित उत्कृष्ट प्रहरी अधिकृतको पुरस्कार पाएका नयाँबानेश्वर वृत्त प्रमुख डिएसपि काफ्लेले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई नेपाल प्रहरीको रेकर्डमा जनिने गरि नगदसहित पुरस्कृत गरेका छन् । तीनमहिना अघि उनले ९ जना प्रहरीलाई पुरस्कृत गरेका थिए ।

सरुवा भएर जाँदाजाँदै पुरस्कृत गरिएका प्रहरीहरुमा प्रहरी निरीक्षक दीर्गबहादुर बोगटी, प्रहरी नायव निरीक्षकहरु जगदिश खड्का र प्रेमबहादुर विश्वकर्मा, प्रहरी सहायक निरीक्षकद्वय राजेन्द्र सिंह पुजारा र बलराम न्यौपाने छन् । प्रसनि पुजारा सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरका इन्चार्ज हुन । यसैगरि प्रहरी हवल्दारद्वय कल्पना कार्की र ध्रुव शाही तथा प्रहरी जवानहरु उमेश कार्की, मणिराम पाण्डे, भगवानदिन यादव, अमर अधिकारी, ओमशंकर चौधरी, कृष्ण बहादुर बोहोरा, सञ्जीव श्रेष्ठ र कमल जिसी छन् ।