समाचार

एसओएस वालग्रामको ७० औं स्थापना दिवस सम्पन्न



काठमाडौँ, ९ असार । एसओएस अन्तर्राष्ट्रिय वालग्रामको ७० औं स्थापना दिवस तथा संस्थापक पिता प्रा.डा. हर्मन माइनरको एकसयौं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

आइतबार एसओएस हर्मन माइनर विद्यालय सानोठीमीमा एसओएस वालग्राम नेपालद्वारा आयोजना गरिएको विशेष समारोहमा वालवालिकाको वैकल्पिक स्याहार, वालअधिकार, वालवालिकाको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका ११ जना ख्यातिप्राप्त समाजसेवी र संस्थालाई सम्मान गरिएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं २ का अध्यक्ष राम थापामगर, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा. ज्योतिरन्त धाख्वा र राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले उनीहरुलाई दोसल्ला र प्रशंसापत्र दिएर सम्मान गरेका थिए ।

यसरी सम्मानित हुने समाजसेवीहरुमा वाल अधिकारकर्मी गौरी प्रधान, सम्पदा संरक्षक एवम् शिक्षासेवी रवीन्द्र पुरी, पशुपति क्षेत्र विकास कोषका पुर्व अध्यक्ष समाजसेवी डा. गोविन्द टण्डन, अपांगता भएका वालवालिकाको क्षेत्रमा कार्यरत समाजसेवी छुल्टुम शेर्पा, महिला र वालवालिकाको शिक्षा र पुर्नस्थापनाको क्षेत्रमा काम गर्दै आएको संस्था माइती नेपाल, वालवालिकाको वैकल्पिक स्याहारको क्षेत्रमा कार्यरत प्रा.डा. ओमकारलाल श्रेष्ठ र श्रीमती शान्ति श्रेष्ठ रहेका छन ।

यसैगरी वालवालिकाको अपांगता क्षेत्रमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अशोक कुमार बास्कोटा, अप्ठेरोमा परेका अभिभावकका बालबालिकाको क्षेत्रमा कार्यरत पुष्पा बस्नेत, बालबालिकाको वृद्धि विकासमा योगदान पु¥याएका नेपाली फुटबल टोलीका पुर्व कप्तान उपेन्द्रमान सिंह, वालवालिकालाई शिक्षा तथा पौष्टिक आहारमा योगदान गर्दै आएको संस्था फुड फर लाईफ नेपाल र महिला तथा वालवालिकाको क्षेत्रमा कार्यरत समाजसेवी रेणु शर्मा रहेका छन् ।

त्यसैगरी, नेपालका विभिन्न जिल्लामा रहेका १० वटा एसओएस बालग्रामहरुले पनि विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान गर्नुभएका ख्यातिप्राप्त समाजसेवी तथा संस्थालाई सम्मान गरेका छन् । यसका साथै एसओएस बालग्राममा २५ वर्षभन्दा बढी सेवा गरेका आमा, काकी, लगायत विभिन्न पदमा कार्यरत कर्मचारीरुलाई पनि पुरस्कृत गरिएको छ ।

एसओएस वालग्राम नेपालको कार्यकारीणी समितिले ती संस्था र महानुभावहरुले आ—आफ्नो क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले जानकारी दिए ।

अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका संसारभरका वालवालिकाको लागि ‘मायालु घर’ को रुपमा परिचित अन्तर्राष्ट्रिय संस्था एसओएस वालग्राम सन् १९४९ देखि अष्ट्रियाको इम्स्ट शहरबाट शुरु भएको हो ।

एसओएस वालग्राम हाल १ सय ३५ मुलुकमा विस्तारित छ भने स्थापनाको ७० वर्षको अवधिमा विश्वभरका ४० लाख वालवालिकालाई प्रत्यक्ष संरक्षण गरिसकेको छ । उनै संस्थापक पिता प्रा.डा. माइनरको जन्मदिनको सम्झनामा जुन २३ अर्थात असार ८ गते विश्वभरी विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।