समाचार

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार



काठमाडौँ, १० असार । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले करार अवधि नसकिँदै दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षाघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायत देशका अस्पतालमा वर्षौंदेखि रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न देशमा कोमामा उपचारत बिरामीलाई स्वदेश ल्याउने तारतम्य मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।