राजनीति

नेकपाको संगठन र विदेश विभागको नेतृत्वमा सहमती



काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभाग र विदेश विभागको नेतृत्वमा सहमति भएको छ ।

संगठन विभागको प्रमुख वामदेव गौतम र विदेश विभागको प्रमुखमा बरिष्ठ नेता माधवकुमार नेपाललाई दिने करिब–करिब सहमति भएको छ । ३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्वएमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी नेता गौतमलाई दिन सहमत भएका छन् ।

नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागि रहेको स्रोतले बतायो । पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन एमालेको भागमा परेका अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्नेबारेमा पनि मोटामोटी सहमति भएको बताइएको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ विभागमा तत्कालिन एमाले १८ र तत्कालिन माओवादीले १४ विभागको नेतृत्व लिने गरी सहमति गरेका थिए । बिहिबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाउनेबारे छलफल भएको थियो ।

स्रोतका अनुसार बिहिबार बालुवाटारमा पूर्वएमाले वृत्तका नेताहरुको बैठकमा नेता पोख्रेलले आफूलाई स्कूल विभागको जिम्मा दिन अध्यक्ष ओलीलाई दबाव दिएका थिए । तर, अध्यक्षद्वय, महासचिव र बहालवाला मन्त्रीलाई विभागीय जिम्मेवारी नदिने सहमति भएको भन्दै अध्यक्ष ओलीले पछि छलफल गर्ने बताएका थिए ।