राजनीति

साझा यातायातमा सरकारले कमाउने होइन, सेवामूलक भावले लगानी गरेको हो : मन्त्री महासेठ



काठमाडौँ, ४ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साझा यातायातमा सरकारले कमाउनको लागि नभई सेवामूलक भावले लगानी गरेको बताउनुभएको छ ।

कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले साझा यातायातसँग नडराउन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । साझा यातायातले सरकारले ल्याएका नीति नियम अनुसार साझालाई बृद्धबृद्धा, विद्यार्थी, अपाङ्गता भएकाहरुलाई छुट दिएर सेवा दिन भनिएको भन्दै उहाँले भन्नुभयो, ‘सरकारले कमाउने होइन, सेवामुलक भावले लगानी गरेको हो । त्यसैले साझाबाट डराउनु पर्दैन ।’

सरकारले ३ अर्ब दिँदैमा साझासँग डराउनु नपर्ने बताउँदै मन्त्री महासेठले यातायात व्यवसायीहरुको लगानी सुरक्षित गर्न सरकार तयार रहेको समेत बताउनुभयो । उहाँले यातायात व्यवसायीमा कुनै पनि समस्या भए कुनै पनि बेला मन्त्रालयमा आउन आग्रह गर्दै उक्त समस्याहरु समाधान गर्न सरकार तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले छिट्टै ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै सो सम्बन्धी विधेयक तयार भइसकेकोले आगामी साता संसदमा दर्ता हुने जानकारी गराउनुभयो ।