राजनीति

शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्नुपर्छ : सभामुख महरा



काभ्रेपलान्चोक, ४ साउन । सभामुख कृष्णबहादुर महराले संसदका शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद सचिवालयले धुलिखेलमा आयोजना गरेको ुसंसदीय संचारको प्रभावकारिता अभिबृद्धिका लागि आयोजित अन्तरसंवाद कार्यक्रमुमा सभामुख महराले संसदका शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको सरकारले सम्बोधन गर्दा संसद र सरकार दुवै प्रभावकारी हुने बताउनुभयो ।

विधेयकमाथि पर्याप्त छलफल गरेर मात्रै संसदमा प्रस्तुत गर्न सरकारसँग आग्रह गर्दै सभामुख महराले विधेयक निर्माणको क्रममा नै छलफल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले संसदमा ३६ विधेयक छन् । १९ विधेयक समितिमा छलफलका क्रममा छन् । कतिपय विधेयक राजनीतिक सहमतिबाट टुंग्याउनुपर्ने छन्, केही विधेयक विवादित पनि छन् । विधेयक ड्राफ्ट गर्दा नै सरकारले प्रयाप्त छलफल होस् भन्ने हामी चाहन्छौं ।’

सभामुख महराले संसदले विधेयकमा गरेका संशोधन स्वीकार गर्नुपर्ने बताए । उहाँले भन्नुभयो, ‘विधेयकमाथि संसदमा पनि सरोकारवालासँग छलफल हुन्छ । सरकारले संसदमा भएका विधेयकको संशोधन स्वीकार गर्नुपर्छ ।’

सरकारले विधेयक प्रस्तुत गर्दा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘पछिल्लो समय सरकारले ल्याएका विधेयक विवादित भएका छन् । केही विधेयक सरकारले फिर्ता लिनुपरेको छ भने केहीलाई स्थगित गरेको छ । ती विधेयक संसदमा दर्ता भएर अलपत्र परेको अवस्था छ । यस्तो अवस्थामा सरकारले सचेत हुनुपर्नेर्छ ।’