समाचार

कामदारका रूपमा ‘उपयोग’ गर्दै !



काठमाडौँ, २९ साउन । सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ । सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् ।

उनीहरूले आफू पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन् । सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ । यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।