सम्पादकीय

नेपाल–भारत संयुक्त आयोग बैठक : तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै



नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ । बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन ।

‘२०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको चौथो बैठकमा प्रस्तुत एजेन्डा, तिनमा भएका प्रगति र थाती विषयमा समीक्षा हुनेछ’, परराष्ट्र अधिकारीले भने । नेपालले तीन दर्जनभन्दा बढी विषयका विभिन्न ‘क्लस्टर’ बनाएर एजेन्डा प्रस्तुत गर्दैछ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा २५ भन्दा बढी नेपाली प्रतिनिधिले समूहगत रूपमा भारतीय पक्षसँग छलफल गर्नेछन् । भारतीय पक्षबाट पनि विदेशमन्त्री एस जयशंकरको नेतृत्वमा २५ सदस्यभन्दा बढी सहभागी हुनेछन् ।

नेपाली पक्षबाट राजनीति, सीमा सुरक्षा र व्यवस्थापनसम्बन्धी प्रमुख क्लस्टरमा रक्षा, गृह, कानुन तथा संसदीय व्यवस्था, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । आर्थिक सहयोग तथा पूर्वाधार निर्माणसम्बन्धी क्लस्टरमा ऋण, कृषि क्षेत्रको विकास, सडक निर्माण, रेलसेवा विस्तारबारे छलफल गर्ने तयारी नेपाली पक्षको छ। रक्सौल-काठमाडौं रेलमार्ग निर्माणको पछिल्लो अवस्थाबारे पनि छलफल हुनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।