समाचार

नामै नसुनिएका देशमा पनि पढ्न जान्छन् नेपाली



काठमाडौँ, ११ भदौ । के तपाईले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ रु नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

हो, यो मुलुकमा पढ्न जान भनी २०७५/०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् । एन्टिग्यु बारबुडा मात्र होइन, नामै नसुनिएका यस्ता धेरै मुलुकमा अध्ययन गर्न जाने भन्दै नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको देखिन्छ ।

शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाको अभिलेखलाई आधार मान्दा आर्थिक वर्ष २०७५/७६ मा अध्ययनका लागि सेन्ट भिन्सेन्ट जान ४, स्वाजिल्याण्ड जान ३, केन्या, तान्जानिया, ब्रुनाई, कोस्टारिका र स्लोभानिया जान १/१ नेपालीले नो अब्जेक्सन लेटर लिएको पाइन्छ ।

चालुू आ.व. २०७६/७७ मा पनि सेन्ट भिन्सेन्ट र बुल्गेरियामा २, कोस्टारिका, कीर्गिस्थान र अजरबैजानमा १/१ नेपाली विद्यार्थीका रुपमा गएका छन् । यो समाचार आजको नागरिकमा छापिएको छ ।