समाचार

हानीकारक परम्परको अभ्यासले महिलामा परिवर्तनको अनुभव नभएको सरोकारवालाको गुनासो



काठमाडौँ, भदौ १२ । मुलुकमा राजनीतिक परिवर्तन आएपनि हानीकारक परम्पराको अभ्यास भईरहेको क्षेत्रको महिलाले परिवर्तनको अनुभव गर्न पाएका छैनन् ।

महिला र बालबालिकाका लागि हानीकारक परम्पराको रूपमा रहेको सुदुरपश्चिम क्षेत्रका महिलाले अहिले पनि महिनावारी हुँदा छाउगोठ सुत्नुपर्दा सर्पले डस्ने, जङ्गली जनावरले आक्रमण गर्ने, यौनजन्य हिंसाको सिकार हुनुपर्ने वाध्यता अझै नहटेको जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्कीले बताउनुभयो ।

महिलाले स्वतन्त्रताको अनुभूति गर्ने पर्व तीजको रौनक सहरदेखि गाउँसम्मै छाएको बेला हालै सुदुरपश्चिमको डोटी, डडेल्धुरा, बाँके, अछाम र बाजुरासम्म पुगेर गरिएको प्रतिनिधीमुलक सर्वेक्षणले त्यस्तो निष्कर्ष निस्केको उहाँले बताउनुभयो ।

एक छाक मिठो–मसिनो खाना दुई/चारदिन आराम गर्न पाईने पर्व तीज आएपछि महिलाको मनमा उमङ्ग छाउँथ्यो, अहिले परिवर्तनलाई आत्मसात गर्दै यस पर्व मनाउने तरिकामा पनि फरकपन देखिएको छ । तर अहिले पनि सुदुरपश्चिमका महिलाले छाउ बार्नुपर्ने वाध्यता कायमै रहेको अवस्थाले त्यहाँका महिलाले परिवर्तनको अनुभव गर्न नपाएको कार्कीले बताउनुभयो ।

सो संस्थाले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले महिनावारीको समयमा साँघुरो झ्याल, ढोकाविनाको गोठमा गएर बस्नुपर्ने परम्परामा शिक्षित परिवारमा थोरै परिवर्तन आएपनि समग्रमा अझै त्यहाँका महिलाले त्यस परम्पराका कारण दुःख पाईरहेको अध्ययन सर्वेक्षणमा पाइएको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता मिरा ढङ्गानाले वि.स. २०६१ सालमा २२ जनाको हस्ताक्षरसहित सार्वजनिक सरोकारको विषय अन्तरगत छाउपढी प्रथा विरूद्ध मुद्दा दायर गरेकोमा २०६२ साल वैशाख १९ गते त्यस प्रथालाई कुरिती घोषणा गर्नुपर्नेलगायतका फैसला भएको थियो ।

त्यसबेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्थानीय मन्त्रालय समेतले त्यस प्रथाबाट महिला बालबालिकामाथि भईरहेको हिंसा, स्वास्थ्य समस्यासमेतको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले फैसला गरेको बताउनुभयो ।

उहाँले १४ वर्ष अगाडि सर्वोच्चको फैसला आजसम्म पनि पूर्ण रूपमा कार्यान्वयन नहुँदा त्यस भेगका महिला, बालबालिकाको सामाजिक, मानसिक र स्वास्थ्यजन्य समस्या अत्यधिक रहेको बताउनुभयो ।

सो क्षेत्रमा महिनावारी हुँदा घरदेखि टाढा बनाइएको अत्यन्त सानो गोठमा बस्नुपर्ने, पौष्टिक खाना नपाउने, सरसरफाईको लागि उचित वातावरण नहुँदा अझै पनि महिलाले धार्मिक परम्पराको नाममा दुःख पाईरहेकोले यस प्रति सबैले गम्भिर भएर सोच्नुपर्ने बेला आएको मिडिया एड्भोकेसी गु्रप –(म्याग)का अध्यक्ष अनिता विन्दुले बताउनुभयो ।

उहाँले जनचेतनाकै अभाव छ, शिक्षित वर्गलाई पनि घरका ठूलाले त्यही संस्कार मान्न वाध्य बनाउँदा पनि परम्परा संस्कार नकार्न नसकेर पनि त्यो परम्परा अझै चलिरहेको छ र नयाँ पुस्ताले विस्तारै हानिकारक परम्परालाई तोड्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।

छाउपडी प्रथालाई अपराधको रूपमा घोषणा गरी मुलुकी अपराध संहिता – २०७४ ले सजायको व्यवस्था गरेको छ ।