समाचार

आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन : विशेष सम्मान गरी मनाइँदै



काठमाडौँ, १३ भदौ । आज कुसे औंसी अर्थात बुवाको ‘मुख हेर्ने औंसी’ पिताको लागि विभिन्न कार्यक्रम तथा घरघरमा पवित्र कुस भित्र्याएर भनाईदै छ ।

भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

आजको दिन छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्दछन् । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ । आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।