समाचार

बमले घर उडाइदिने धम्की दिने एक जना पक्राउ



काठमाडौँ, १९ भदौ । बमले घर उडाइदिने धम्की दिएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्तोष कडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । आरोपी कडेलले स्यूचाटर नागार्जुन नगरपालीका-९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठीमार्फत नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने र बमले घर उडाइदिने धम्की दिएको थिए ।

उनले मंगलबार दिउँसो बालाजु पुलमा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याई दिने र घरमा समेत बम राखी उडाई दिने धम्की दिएको थिए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।