समाचार

मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट, ३० लाख चल्ला मारिए



काठमाडौँ, २ पौष । मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ ।

ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मारेको खुलेको हो । संघले निर्मम तरिकाले खाल्डोमा पुरिएको ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ ।

संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेको छ। संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ ।

यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन् ।

संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको छ। मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।