समाचार

तारा र ग्रहको नाम सगरमाथा र लालीगुराँस



काठमाडौँ, २ पौष । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ ।

फ्रान्सस्थित पेरिसमा मंगलबार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो । नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो । नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वान समेत गरेको थियो । सोसाइटीले गत अगष्ट ३१ सम्ममा ४७६ ग्रह र ताराका नाम सिफारिस भएका थिए । त्यसबाट सोसाइटीले पाँच-पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो ।

सोसाइटीले गोर्खा, सगरमाथा, अर्निको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दस वटा नाम पठाएको थियो । आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो । जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा(सगरमाथा) र त्यसलाई घुम्ने एचडी १००७७७ बी नामक ग्रह(लालीगुराँस) को नामाकरण गर्न दिइएको थियो ।