समाचार

५३ केजी गाँजासहित चार जना पक्राउ



मकवानपुर,१९ पौष । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५, रातोमाटेबाट प्रहरीले ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ फायर समेत गरेको छ । भारतीय कार र ट्रकमार्फत निकासी गर्न लागिएको गाँजासहित चार जनालाई पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

रातोमाटे र चुरियामाइबीचको जंगलमा चार राउन्ड हवाइ फायर गर्दै प्रहरीले डीएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो । ३२ केजी गाँजासहित भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति रातोमाटेबाट नै २१ केजी गाँजासहित अर्का एक जना पक्राउ परेका छन् । ना ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक राक्सीराङ गाउँपालिका वडा नम्बर-५ का ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको हो ।