समाचार

पक्राउ परेका चिनियाँको राहादानी रद्द



काठमाडौँ, २१ पौष । चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ । प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको हो ।

‘व्यक्ति छन्, राहदानी छैन । राहदानी छ, व्यक्ति फरार छन्’, एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भने । प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन । बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ । राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो ।

राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी छ। त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ । ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइनेछ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।