समाचार

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने दुई जना पक्राउ



बारा, २२ पौष । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गरुडा नगरपालिका-४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् । उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेशिया बस्ने कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुले प्रसौनी गाउँपालिका-६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके ईण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।