समाचार

आफ्नै छोरीको हत्या आरोपमा आमासहित चार जना पक्राउ



पर्सा, २३ पौष । आफनै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने  १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन् ।

पक्राउ परेकी शिवकली बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका हुन् । पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

पुनिताको हत्या परिवारकै सदस्यबाट भएको आशंका प्रहरीले गरेको छ । कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्राप्त सूचना अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोली घटनास्थल पुग्दा पुनिताको शव जलाएर बचेको शरीरको आंशिक भागहरु केही पर गाडेको अवस्थामा फेला परेको थियो । गाडेको ठाउँबाट शरीरको भाग उत्खनन् गरी घटनास्थल शवजाँच मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।