समाचार

लागूऔषधसहित दुई जना पक्राउ



जनकपुरधाम, ५ असार । सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरमा भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिराहाको भगवानपुर गाउँपालिका ३ बस्ने २१ वर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० वर्षीय छोटुकुमार यादवलाई पक्राउ गरेको छ ।

उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाइलेक्स डीसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।