राजनीति

कोरोनाकै कारण कैदीबन्दी मुक्त गर्ने रणनीति छैन : गृह मन्त्रालय



काठमाडौँ, १८ भदौ । विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रबन्धसहित स्वास्थ्य एवम् सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।

कोरोना महामारीको सङ्क्रमण देखाई कैन्दीबन्दीहरूलाई जेलमुक्त गर्ने वा सजाय घटाउने कुनै किसिमको रणनीति नभएको कुरापनि गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्क्रमण हुन नदिन र सङ्क्रमितको उपचार प्रबन्धका लागि यथोचित व्यवस्था गरिएको जनाएको छ ।

कैदीबन्दीहरूलाई बाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरी बिरामीका लागि सम्भव भएसम्म कारागार परिसरमा नै स्वास्थ्यकर्मीबाट उपचार गराउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा आएका समाचार, टिकाटिप्पणी तथा प्रतिक्रियाहरूप्रति मन्त्रालय सजग रहेको स्पष्ट पार्दै उहाँले सङ्क्रमितको उपचारका लागि कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र केन्द्रीय कारागारमा परिसरमा रहेको घरेलु तालिम केन्द्रलाई आइसाेलेसन सेण्टर बनाइएको बताउनुभयो ।

हालसम्म मुलुकभरका विभिन्न कारगारमा रहेका ११८ जना कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण देखिएकोमा ६९ जना उपचारपछि निको भएर आ–आफ्नो कारागार फर्किएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण एक जना कैदीको मृत्यु भएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।