राजनीति

नेपालमा कोरोनाको खोप खरिदका लागि यस्तो छ तयारी



काठमाडौँ, २९ कार्तिक । नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ । खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ । महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ ।

नेपालले निम्न तथा मध्यम आय भएका राष्ट्रले पाउने सुविधाअन्तर्गत खोप पाउनका लागि विश्व स्वास्थ्य संगठनलगायत अन्य निकायसँग लगातार सम्पर्कमा रहेको र आवश्यक प्रक्रिया अगाडि बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । अर्काेतिर निजी क्षेत्रलाई खोप आयात गर्न दिन पनि कानुन संशोधन आवश्यक छ । स्मरणीय छ, अन्तरिम नतिजामा ९२ प्रतिशत सफल दाबी गरिएको रुसी खोप ‘स्पुतनिक–भी’ आयात गर्न रुसको सम्बन्धित निकाय र नेपालको एक औषधि आयातकर्ता कम्पनीबीच सम्झौता भैसकेको छ ।

यसैबीच केही अन्तर्राष्ट्रिय कम्पनी र भारतीय औषधि निर्माता कम्पनी कोरोना खोप भारतमा उत्पादन गर्ने अन्तिम तयारीमा जुटेका सन्दर्भमा नेपाल सरकारले प्रभावकारी कूटनीतिक प्रयासमार्फत नेपालमा खोप उपलब्ध गराउन ठोस प्रयास गर्नु आवश्यक रहेको विज्ञ बताउँछन् । अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप भारतको सेरम इन्स्टिच्युटले पनि उत्पादन गर्ने सम्झौता भैसकेको छ भने भारतमा अन्य ६ वटा कम्पनी खोप निर्माणको दौडमा छन् ।

नेपालमा खोप कहिलेसम्म आउला भनेर निश्चित भन्न नसकिए पनि समग्र अवस्था र प्रयास अपेक्षित रहेमा आगामी तीनचार महिनामा पहिलो लट उपलब्ध हुने विश्वास सम्बन्धित अधिकारीहरूको छ । ‘आपत्रकालीन प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले कुनै खोपलाई अनुमति दिँदासाथ नेपालमा खोप उपलब्ध गराउने प्रयासमा हामी जुटेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल भन्छन् । पोखरेलका अनुसार आगामी मार्चसम्म नेपालमा सीमित मात्रामा खोप उपलब्ध हुन सक्छ। उनले खोप उपलब्ध भएपछि कसलाई प्राथमिकता दिने भन्नेमा पनि गृहकार्य भैइरहेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।