राजनीति

जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आयोः सभापति देउवा



बारा, १ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ ।

बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख)को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आइतबार उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशलाई कांग्रेसको खाँचो रहेको हुँदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।’