Banner News

जसपाका नेता उपेन्द्र यादव जेल जान सक्ने



रौतहट, ७ चैत । उमेरको उत्तरार्द्धमा चन्द्रपुर–२ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका यादभन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । २०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ ।

भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो तर पाण्डे दम्पतीले शवसमेत हेर्न पाएनन् । अहिले उनीहरू बेसहारा छन् । १४ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही भएको छैन । कुनै युद्धभूमिमा लडाइँ हुँदै गरेको फिल्मको झल्को आउने त्यो क्रूर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत १ सय १३ जनाको नाम जोडिएको छ । पाण्डे परिवारका कान्छो छोरा दीपक मारिँदा उनी माओवादीको वाईसीएलमा भर्ना भएको ९ महिना पुगेको थियो ।

राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए । त्यस दिन राइस मिलमा माओवादी र फोरमले एकै ठाउँमा सभा गर्न लागेको भन्दै नगरपालिका क्षेत्रभरि एकखाले त्रास पैदा भइसकेको थियो । यसको यथार्थ जानकारी हुँदा पनि स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन । फोरमले मैदानको दक्षिण र माओवादीले उत्तर कुनामा अघिल्लो दिन नै मञ्च बनाइसकेका थिए । त्यही राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायत जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा खटाइएको थियो । उनीहरू साना हतियारसहित आएका थिए । माओवादी कुनै हालतमा फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम गरेरै छाड्ने अडानमा थियो ।

फोरमले प्रमुख अतिथि नेता उपेन्द्र यादवलाई बोलायो, माओवादीले जिल्ला इन्चार्ज प्रभु साहलाई । सभाको अघिल्लो दिन चैत ६ गते दीपकलाई सभामा सहभागी हुन वाईसीएलका स्थानीय नेताले खबर पठाए । त्यसपछि उनलाई घरबाट हिँडाइहाले । १४ वर्षअघिको त्यो दिनको सम्झना भक्तबहादुरलाई अझै पनि झलझली छ । छोरा माओवादीमा लागेको थाहा पाएपछि निकैपटक सम्झाएको उनले सुनाए । उसै बेला गौरमा भएको माओवादीको भेटघाट कार्यक्रममै पुगेर सम्झाउन खोज्दा दीपकले बुबालाई उल्टै सम्झाएर पठाए । दीपकले भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘बुबा, म मरें भने सहिद हुन्छु । मलाई मेरो जीवन रक्षा गर्न आउँछ, चिन्ता नलिनुस् ।’

भक्तबहादुरको चिन्ता त्यसपछिका परिदृश्यहरूले झन् गाढा बनाउँदै लग्यो । ‘त्यस दिन छोरा गौरको सभामा गएको भन्ने थाहा पाएपछि मेरो मन थिरमा थिएन,’ उनले भने, ‘त्यतैबाट ऊ सदाका लागि बिदा भयो, अन्तिम पटक अनुहार हेर्न पनि पाइनँ ।’ चैत ७ गते झमक्क साँझ परिसकेको थियो । उनी छोराको बाटो हेरेर घरमै टहलिरहेका थिए । छोरा घर नआएपछि उनको छटपटी रातसँगै छिप्पिँदै गयो । भोलिपल्ट वरपरका छरछिमेकीलाई छोराको अवस्था पत्ता लगाइदिन उनले हारगुहार गरे तर कसैले केही भनेनन् । त्यतिबेलासम्म दीपकले गौरमा प्राण त्यागिसकेका थिए ।

घटनाको तीन दिनसम्म पाण्डे परिवारले के भएको हो, कसो भएको हो भनेर मेसो पाएन । एकैचोटि छोराको दाहसंस्कार भइसकेको थाहा पाए भक्तबहादुरले । झडपमा आफ्नै छोरा परेको खबर सुनेपछि आमा भगवती पनि बेहोस भइन् । ‘छोरालाई कसले मार्‍यो थाहा छैन, मार्नेलाई कारबाही भयो/भएन पनि थाहा छैन,’ भगवतीले भनिन्, ‘हामीचाहिँ बेसहारा भयौं ।’ पाण्डे परिवारका दीपक कान्छो छोरा हुन् । जेठो अजयले उसै बेला आत्महत्या गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।