राजनीति

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : सचिव भट्टराई



ताप्लेजुङ, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरूबिचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । 

आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता साझेदार दलहरूबिचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको बताएका हुन् । उनले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरू अघि बढ्ने विश्वास व्यक्त गरे । छिमेकी देशहरूमा तीव्र रूपमा विकास भइरहेकाले उनीहरूलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उनको भनाइ छ ।

कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उनले बताए । वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उनको भनाइ थियो ।