राजनीति

जसपामा दुई समूह छुट्टाछुट्टै भेला



काठमाडौँ, ७ चैत । नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन् । पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन् । पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो । एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ । बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए । ‘बिहीबार पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं । आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो ।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो ।

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो । भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए । एकजना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन् । पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन् । इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।